चिकित्सकद्वारा सामूहिक राजीनामा घोषणा
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । उनीहरुले शान्ति सुरक्षा नभएको भन्दै सामूहिक राजीनामाको घाषणा गरेका हुन् । प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय प्रशासनलाई समेत बोधार्थ पत्र पठाएका छन् ।
गत भदौ २ गते आकस्मिक विभागमा कार्यरत डा करण साहमाथि प्रतिष्ठान प्रशासनकै चौथो तहका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । आफ्नो छोराको टाँका नकाटेको भन्दै हात र लात दुवैले डा साहलाई हिर्काएको दृश्य सीसीटिभी फुटेजमा हेर्न सकिन्छ । डक्टर कुट्ने शाहीविरुद्ध मुद्दा चलिरहेको छ । उनलाई प्रतिष्ठानले ४५ दिन निलम्बन गरेको छ ।
अस्पताल निर्देशक डा पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर छानबिनसमेत चलिरहेको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुले पिडक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला केही व्यक्तिहरुले नाबालकलाई प्रयोग गरेर मुठभेटको अवस्था सिर्जना गर्न थालेको भन्दै भयावह वातावरणमा सेवा दिन नसक्ने जनाएका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपकुलपति डा रावललाई बुझाएको सामूहिक राजीनामा पत्रमा भनिएको छ ,‘इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ । जसकारण हामी सामूहिक राजीनामा दिन बाध्य छौं ।
ुशान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौं, पत्रमा भनिएको छ कानुनी राज्यको आभाष नभएकोले विरोधको नयाँ स्वरुपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौं । ’ उनीहरुले डा साहमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।