गर्भवतीको हेलिकप्टरबाट उद्धार
जाजरकोट : चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
जिल्लाको नलगाड नगरपालिका–८, लुपानाकी २७ वर्षीया लक्ष्मी वलीको हवाई उद्धार गरिएको हो। दल्लीबाट हवाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
लक्ष्मीको गर्भमा रहेका जुम्ल्याहा बच्चामध्ये एक बच्चाको पेटमै मृत्यु भएपछि उनको अवस्था जटिल भएको नलगाड स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्कीले बताए। उनले अवस्था जटिल भएपछि उनलाई शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याइएको तर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुत्केरी गराउन नसकिएपछि रिफर गरिएको थियो।
स्वास्थ्य संस्थामा पेटमा रहेका बच्चा निकाल्न नसेको र अवस्था जटिल भएपछि तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए। स्थानीयको आग्रहमा पत्रकार प्रकाश पन्त र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गरिएको हो।