Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मतदाता नामावली अद्यावधिक र दाबी विरोध सुरु हुदै


दैलेख  :   जिल्ला निर्वाचन कार्यालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी बिरोधको प्रक्रिया सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउँचाका अनुसार निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्न अन्तरक्रिया बैठक आयोजना गरिएको र १२ गते बाट कार्यक्रम सञ्चालन गर्न लागिएको मेरो कर्णालीलाई जानकारी दिइन ।

उनले नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू कार्यक्रम हुने बताइन । उनले भनिन नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स, तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको नामावली अद्यावधिक र दाबी विरोध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला हरि प्याकुरेलले जिल्लाका ९० वटै वडामा १२ गते नामावली प्रकाशन गर्ने र त्यसका आधारमा कसैले नामावली सच्याउने,हटाउने,नामावली सार्ने कुन प्रयोजन हो वडा कार्यालय बाट सिफारिस गर्ने सकिने बताए । उनले निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित बनाउने पहिलो भनेको मतदातानामवली नै हो नामावली त्रुटि रहित भएमा निर्वाचन शान्त रूपमा सम्पन्न हुन सक्छ त्यसैले प्रत्येक स्थानीय तहले समेत मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध कार्यक्रमलाई सफल बनाउनु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिक समाज,पत्रकार लगायतले मतदाता नामवली अध्यावधिक तथा दावी बिरोधका सुचनाहरु जनताले सहज रुपमा प्राप्त गर्न संचार माध्याम बाट सुचना प्रशारण गर्नु पर्ने धारणा राखेका थिए ।