Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मौसमी फ्लुले ४९ विद्यार्थी बिरामी


दैलेख  :  मौसमी फ्लुको सङ्क्रमणबाट नारायण नगरपालिकाका दुई वटा विद्यालयका ४९ जना विद्यार्थी बिरामी परेका छन् । नारायण नगरपालिका–३ मा रहेको पञ्चदेवल आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४९ जना विद्यार्थीमा मौसमी फ्लु देखिएको हो । दुई दिन देखी विद्यालयमा मौसमी संङक्रमण फैलिएपछि विद्यार्थीहरू बिरामी भएका थिए ।

विद्यार्थीहरूमा मौसमी फ्लु देखिएपछि नारायण नगरपालिको शिक्षा शाखा,स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा बाट गएको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी वितरण समेत गरिएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक लाल बहादुर खड्काले विद्यालयमा विद्यार्थी बिरामी भएको खबर प्राप्त भए अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालय बाट डाक्टर डेकेन्द्र सन्ज्यालको टोलीले स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । उनले दुई वटा विद्यालयका ५० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी समेत वितरण गरिएको बताउँदै फ्लुका कारण ज्वरो आउने टाउको दुख्ने,पखाला लाग्ने, र घाँटीमा समेत समस्या भएपछि कोरोना परीक्षण समेत गरिएको बताए । उनका अनुसार आठ जना विद्यार्थीको एन्टिजेन प्रविधि मार्फत कोरोना परीक्षण गर्दा नेगेटिभ देखाएको छ ।

डाक्टर डेकन्द्र सन्ज्यालका अनुसार बिरामी विद्यार्थीमा सुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको बताए । उनले बिरामीमा झाडापखाला पनि देखिएको बताए । उनले विद्यार्थीलाई एक अर्का सँग सम्पर्क नगर्न र आराम सहित बस्न परामर्श गरिएको जानकारी दिए । उनले भने जिल्ला स्वास्थ्य सेवा कार्यालयमा समेत मौसमी फ्लुका बिरामी आउने समेत गरेको छन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र रेग्मीले विद्यार्थीहरू धमाधम बिरामी परेपछि आफूहरूले नगरपालिकालाई खबर गरेपछि चिकित्सकको टोली पुगेको बताए । उनले बिरामी विद्यार्थी भएका बालबालिकालाई आवश्यक औषधी वितरण गरी घरमा पठाएको बताए ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले विद्यार्थीमा मौसमी फ्लु देखिएको खवर प्राप्त हुनसाथ चिकित्सकको टोली पठाएको र अन्य विद्यालयमा त्यस्तो समस्या आएको खण्डमा आवश्यक औषधी वितरण गर्न नगरपालिका तयार रहेको बताए ।