Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड प्रस्ताव

काठमाडौं  :   प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड प्रस्ताव गरेको छ। पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार छनोटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सवैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ। एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने गुरुङले बताए।

बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए। उनले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर एमाले नबसेको भन्दै एमालेसँग गठबन्धन गर्न चाहनेलाई ढोका खुल्लै रहेको जिकिर गरे। बैठकले यसअघि सचिवालय बैठकहरूले गरेका निर्णयलाई अनुमोदन गरेको उनले बताए। एमालेको पोलिट्व्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बस्ने एमालेले जनाएको छ।