Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

जसले नामकै कारण ३३ वर्ष अपमान भोग्नुप¥यो


दैलेख  :   नागरिकतामा अपमान जनक नाम लेखेकै कारण ३३ वर्ष देखी अपमान भोगिरहेको भगवतिमाई –३ मेहेलतोलीका कविराम कामीले नयाँ नागरिकता पाएका छन । गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुनः नागरिकता दिन निर्देशन दिएपछि ’कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको हो ।

२०४६ साल जेठ १० मा गाउँमा खटिएको टोलीले उनलाई नागरिकता दिएको थियो । नागरिकतामा उनको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । सामान्य लेखपढ गर्न नजानेका उनलाई आफ्नो नाम के राखियो भन्ने समेत थाहा थिएन । त्यसको केही समय पछि आफ्नो नाम नागरिकतामा कुकुर कामी लेखेको जानकारी पाएका उनले त्यही नामकै कारण १७ वर्ष काला पहाड बस्न बाध्य हुनुपरेको थियो ।

पाँच छोरा छोरी भएपछि काला पहाडमा मजदुरी गरेर परिवार पाल्न कठिन भएपछि आफ्नो जन्मभूमि फर्किएका थिए । नागरिकतामा अपमानजनक नाम भएकै कारण उनका ५ छोराछोरी र बुहारीले नागरिकता बनाएका थिएनन् । छोराहरू पप्पु, शिवराज, बुहारीहरू निशा, सरिता र छोरीहरूले उमेर पुगे पनि नागरिकता बनाउन मानेका थिएनन्  । दुई छोरा र एक बुहारीको नागरिकता भने उनको पुरानै नामबाट बनेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय दैलेखले ३३ वर्षपछि नागरिकतामा आफ्नो वास्तविक नाम भएको नागरिकता दिएपछि भने कविराम कामी खुसी भएका छन ।

नागरिकता लिदै कविरामले भने जीवनका ३३ वर्ष नामकै कारण समाजमा अपमानीत हुनुप¥यो , अहिले नागरिकतामा आफ्नो वास्तविक नाम राखेर प्रमाण पाउँदा ठुलै युद्ध जीते जस्तो अनुभूति गरेको छु । प्रमुख जिल्ला हरि प्याकुरेलले भने नागरिकताको प्रमाणपत्रमा नाम सच्याइएपछि कुकुर कामी नाम बाट बनेका प्रमाणपत्रहरू सबै सच्याइने बताए । उनले जिल्ला प्रशासनले उहाँलाई आवश्यक पर्ने सबै निकायमा नाम सच्याइएको पत्र पठाइदिने र त्यसैका आधारमा सबै प्रमाण पत्रमा कविराम नाम रहने बताए ।

उनी जस्तै भगवतीमाई–५ का कर्णबहादुर कामीले पनि २३ वर्षपछि नाम सच्याएर नागरिकता पाएका छन । २०३५ सालमा जन्मिनुएका कर्णबहादुर विकले २०५६ सालमा नागरिकता बनाएपछि तत्कालीन समयमै धेरै कुरा गर्न नसक्ने भएका कारण ठगे कामी भएको नागरिकता आफूले लिएर गएको बताए । उनले भने घर खर्च धान्न मुस्किल भएपछि कक्षा ७ मा पढ्दापढ्दै मजदुरीका लागि काला पहाड गए पढ्ने इच्छा अधुरै रह्यो । प्रमुख जिल्ला अधिकारीले भने ठगे कामीका रूपमा नागरिकता प्राप्त गरेका कर्ण बहादुर विकलाई फरक नाम बाट नागरिकता प्रदान गर्न नसकिने जनाएपछि निराश बनेका उनलाई विद्यालयले विद्यालयमा अध्ययनरत रहँदा कर्ण बहादुर रहेको बुवाको नाम र जन्म मिति मिलेपछि कर्ण बहादुरकै नाम बाट नागरिकता प्रदान गरिएको बताइएको छ ।

कर्ण बहादुर विकको नाम बाट नागरिकता पाएपछि कविराम मात्र होइन उहाँका छोरा छोरी ,आफन्त खुसी भएको बताए । उनले भने अहिले मजस्तो खुसी को होला र ’ ‘अझ बढी खुसी ५ छोराछोरी भएका छन् । नामले नै अपमान भोगेका व्यक्तिको मुचुल्का र सिफारिस पठाउन जिल्लाका ११ वटै पालिकामा पत्राचार गरिएको प्रजिअ प्याकुरेलले बताए ।

उनले अनुसार नागरिकतामा अपमानजनक नाम भएको महसुस गरेर सच्याउन आउनेको संख्या २५ पुगेको बताए अपमानजनक नामहरू सबै सच्याइनेछ उनले भने अब सबै स्थानीय तहमा नागरिकता जम्मा गरेर सिफारिस बनाएर एकमुष्ट पठाउने वा प्रत्येक पालिकामा नागरिकता सच्याउने शिविर सञ्चालन राख्ने तयारी समेत गरिएको बताए ।

सोमवार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय दलित आयोगले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुकुर्टीले जिल्ला प्रशासनले गरेको कामको प्रशंसा समेत गरेका छन । उनले दलित माथि हुने विभिन्न घटना लाई छिटो भन्दा छिटो न्याय प्रदान गर्न सबै सरोकारवाला निकाय लाग्नु पर्ने समेत बताए ।