मंसिर ३ सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने
काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो। मंसिर ४ गते मतदान हुँदैछ। २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन्। आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरिसकेको छ।
‘नामावलीमा भएको त्रुटि सच्याउने, कसैले भुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदसयको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू कार्यक्रममा समावेश गरिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अयोगले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स, तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरेको छ। नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ।