Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कृषकका नाममा कर्मचारीको भ्रमण


दैलेख  :  कृषकलाई नयाँ ठाउँको अवलोकन भ्रमण गराएर नयाँ प्रविधि र ज्ञान सिकाउने उद्देश्यले कृषक भ्रमण राखेको नारायण नगरपालिका दैलेखले कर्मचारी र जनप्रतिनिधिलाई भ्रमण गराएको पाइएको छ । स्थानीय सरकारले जनताको दैनिकी परिवर्तनका लागि कृषि, रोजगारलगायतका जनमुखी कामहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ। तर यहाँको नारायण नगरपालिकाले भने कृषकका नाममा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भ्रमण गराइएको पाइएको हो।

महालेखाको प्रतिवेदन ०७९ अनुसार लक्षित वर्गका लागि तोकिएको कार्यक्रमबाट सम्बन्धित वर्गले लाभ लिएको हुनुपर्ने भएपनि नगरपालिकाले कृषक भ्रमणका लागि छुट्याइएको ३ लाख ५० हजार रूपैयाँबाट ३५ जना मध्ये १६ जना कर्मचारी र जनप्रतिनिधिले भ्रमण गरेको उल्लेख गरिएको छ।

भ्रमणमा गएका ३५ जना मध्ये १९ जना मात्र कृषक रहेको महालेखाले जनाएको छ। ३५ जना मध्ये १६ जना कर्मचारी, जनप्रतिनिधि बाँकी १९ जना मात्र कृषकले भ्रमण गरेकाले लक्षित वर्गको काम प्रभावकारी नदेखिएको प्रतिवेदनमा भनिएको छ।

भ्रमण नियमावली २०६४ को नियम ६ मा भ्रमण खर्चबापत यातायात टिकट खर्चको मात्र भुक्तानी हुने व्यवस्था छ। नगरपालिकाबाट भएको कृषि भ्रमणमा कार्यालय स्वयमले सवारी व्यवस्था गरेको भनेकाले १६ जना व्यक्तिलाई २ हजारका दरले भुक्तानी गरेको ३२ हजार रुपैयाँ असुल गर्न महालेखाले निर्देशन दिएको छ।साभार थाहाखवर