अवैध मुद्रा कारोबारको आंशकामा ५ जना पक्राउ
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका १२ देउती टोलबाट अवैध मुद्रा सम्बन्धी कारोबार गरेको आरोपमा ५ जना पक्राउ गरेका छन्। स्थानीय एक खाजा पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरेको प्रहरीले सुचना पाएपछि संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–४ का १९ वर्षीय मदन विक, जाजरकोट छेडागाड नगरपालिका –५ का २४ वर्षीय निमबहादुर विक, ३३ बर्षीय रत्नबहादुर नेपाली, जाजरकोट कुसे गाउँपालिका –५ खुर्पाका ३२ वर्षीय शान्तबहादुर बादी, सुर्खेत सिम्ता गाउँपालिका–३ आग्रीगाउँका २३ वर्षीय समर विक रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ गरेका ब्यक्तिहरुबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको विभिन्न किसिमको बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरिएको छ। अन्य दुई थान छालाजस्तो त्रिभुजाकारको बस्तु, विभिन्न आकारका चिज वस्तु तथा पत्थरहरु, बारुद जस्तो देखिने सानो डिब्बा, विद्युतिय वस्तु दुई दुई थान बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका सवै अनुसन्धानका लागि नियन्त्रणमा लिईएको छ।