घरदैलोमा नै मिटर पाउँदा खुसी
दैलेख : नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखले नयाँ लाइन बिस्तार गरिएका स्थानका नागरिकका लागि बिद्युत मिटर घर आगनैमै उपलब्ध गराएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ बास्तकोटका ३४ घरलाई मिटर वितरण गरेको हो । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले घरदैलो मिटर वितरण कार्यक्रम तयार पारी पहिलो पटक ३३ घरलाई मिटर वितरण गरेको बताए । उनले यो आर्थिक वर्षमा नयाँ लाइन बिस्तार गरेको ठाउँमा विद्युत् वितरण केन्द्र आफै त्यहाँ पुगेर मिटर वितरण गर्ने कार्यक्रम अनुसार नै मिटर वितरण गरेको बताए ।
उनले दुर्गम गाउँका नागरिकहरूलाई जिल्लामा आएर मिटर लिन धेरै समय र रुपियाँ समेत खर्च हुने समस्या देखिएपछि आफुलै गएर मिटर वितरण गर्ने अभियान शुभारम्भ गरेको बताए । उनले भने हामीले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पहिला चरण वितरण ग¥यौ अव भैरवी गाउँपालिका –१ म समेत मिटर वितरण गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका इलेक्टीक फोरम्यान प्रेम प्रकाश चपाइले घरदैलो मिटर वितरण कार्यक्रम अनुसार ग्राहकहरूको लागत संकलन गर्ने र त्यही बाट विल काटेर मिटर दिने गरेको बताए । उनले नयाँ लाइन विस्तार हुने ठाउँमा मात्र यो कार्यक्रम सञ्चालन हुने बताए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका –५ का वडा अध्यक्ष हस्तप्रसाद शर्माले आफ्नो आग्रहमा विद्युत् वितरण केन्द्र दैलेखले घर आगनैमै नागरिकहरूलाई मिटर वितरण गरेर सहयोग गरेको बताए । उनले विकट क्षेत्रमा रहेका विपन्न परिवारलाई बिजुलीमा सहजता पुगोस् र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त कार्य गरेको बताए ।
वडा अध्यक्ष शर्माले विकट क्षेत्रका नागरिकले घरदैलोमा मिटर बक्स पाएपछि राहत महसुस भएको बताए । उनले अनहिले मिटर वितरणसँगै जडान कार्यलाई समेत निरन्तरता दिने बताए ।