करार कर्मचारी नहटाउन कर्मचारी संगठनको माग
दैलेख : स्थानीय तहका करार कर्मचारीलाई बिना सर्त काममा फर्किने वातावरण बनाउन कर्मचारी संगठनहरुले माग गरेका छन् । शुक्रवार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तीमा भनिएको छ ‘अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई दैलेख जिल्लाका विभिन्न स्थानीय तहहरुले करार नविकरण तथा म्याद थप नहुने भनि गरेको निर्णयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, यस्ता कार्यहरुप्रति घोर भत्सना गर्दछौ ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधीका लागि करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ समेतलाई वेवास्ता गरी आफुखुसी कुनै मापदण्ड तथा कानून आधारमा नटेकी राजनीतिक प्रतिसोध झल्किने गरी करार सम्झौता नविकरण तथा म्याद थप नगर्ने भनी भएको निर्णय सच्चाउनुपर्ने उनिहरुको माग छ । विज्ञप्तीमार्फत संगठनहरुले बिना सर्त आ–आफ्नो काममा फर्किने वातावरण गराउन समेत स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।दैलेखको ठाटीकाँध, गुराँस र डुङ्गेश्वर गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाले करार कर्मचारीहरुको सम्झौता नविकरण नहुने निर्णय सार्वजनिक गरिसकेका छन् ।