गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने
दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले करारका कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ । गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँ सभाको १० औँ अधिवेशनको निर्णय नं ८ अनुसार गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने भएको हो ।
गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गते देनि नविकरण नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाले जानकारी दिए ।
करार सम्झौता नविकरण नहुनेबारे गाउँपालिकाले जारी गरेको सूचनामा करारमा कार्यरत कर्मचारीहरुले आफ्नो जिम्मामा रहेको नगदी, जिन्सी सामग्री बरबुझारथ गर्न, पेश्की बाँकी भएमा फर्छौट गर्न भनिएको छ । गाउँसभाको निर्णय विपरित कार्यालयमा हाजिर भएमा गाउँपालिकाबाट तलब भत्ता भुक्तानी नहुने र हाजिर गर्ने गराउने व्यक्ति स्वयमं जिम्मेवार हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।