Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कुपोषण शून्य अवस्था ल्याउन असल आमालाई प्रोत्साहन

दैलेख  :  नारायण नगरपालिका दैलेखले नारायण नगरपालिका भित्र कुपोषणको अवस्थामा शून्य ल्याउन असल आमालाई प्रोत्साहन गरेको छ । नारायण नगरपालिकाले असल आमा प्रोत्साहनमा तोकेको मापदण्ड पुरा गरेको एक सय २० जना असल आमालाई प्रोत्साहन गरिएको नारायण नगरपालिकाले जनाएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले असल आमा हुन २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने,चार पटक गर्भ जाँच गरेको हुनुपर्ने,स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनु पर्ने,बच्चालाई पूर्ण खोप लगाएको हुनु पर्ने र दुई सन्तान मात्र भएका आमाहरूलाई असल आमाका रूपमा प्रोत्साहन गरिएको बताए । उनले नारायण नगरपालिकाका केही वडामा अहिले पनि बालबालिकामा कुपोषण भएको हुँदा कुपोषणको अवस्थालाई शून्य अवस्थामा ल्याउन सहयोग गर्ने उत्कृष्ट आमाहरूलाई प्रोत्साहन बापत सम्मान गरेको बताए ।

असल आमा प्रोत्साहन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले नारायण नगरपालिकाले कुपोषणको अवस्था शून्य अवस्थामा पु¥याउन गरिएको यो कार्यक्रम उत्कृष्ट भएको बताउँदै कुपोषण शून्य अवस्थामा नआउँदा सम्म कार्यक्रम निरन्तर गर्नु पर्ने बताए । उनले असल आमा प्रोत्साहन हुने आमाहरूले समुदायमा गएर स्वास्थ्य उल्लेख गरेको मापदण्ड पुरा गराउन लाग्नु पर्ने बताए ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नारायण नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा लिनु,बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने , आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु महिला र बालबालिका मैत्री सेवा बिस्तार गर्नु निरोगी शुसोषित र स्वावलम्बी नागरिक निर्माणका लागि कार्यक्रम गरिएको बताए । उनले भविष्य सन्नती जन्माउँदा ख्याल गर्नु पर्ने कुराहरूलाई आमाहरूले प्राथमिकता राख्नु पर्ने बताए ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक लाल बहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविका,स्वास्थ्यकर्मीको सिफारिसमा मापदण्ड पुगेका एक सय २० जना असल आमाहरूलाई प्रोत्साहन बापत दुई हजार रुपियाँ पछ्यौरा र झोला वितरण गरिएको बताए । उनले प्लास्टिकको झोला विस्थापन गर्नका लागि कपडाको झोला वितरण गरेको बताए ।