Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

काँक्रेविहार म्याराथनमा एक हजार भन्दा बढिले भाग लिदै

फाइल तस्बिर

सुर्खेत  :  अन्तर्राष्ट्रिय ओलम्पीक डे २०२२ को अबसरमा असार ७ गते मंगलवार आयोजना गरिएको काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढिले भाग लिने भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरले आयोजना गरेको उक्त म्याराथनमा एक हजार भन्दा बढिले सहभागी जनाउँने भएका हुन ।

स्थानीय वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताए ।

उनका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ ।

यो प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्दन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन् । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।