Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

जिससका प्रमुख उपप्रमुखले गरे पदभार ग्रहण

दैलेख  :   जिल्ला समन्वय समिति दैलेखका प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन् । जिसस प्रमुखमा निर्वाचित नमराज शाही र उपप्रमुखमा निर्वाचित केशवबहादुर शाहीले पदभार ग्रहण गरेका हुन् । जिसस प्रमुखले यसअघि नै मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका थिए । प्रमुख शाहीले मंगलवार उपप्रमुख केशवबहादुर शाही र ७ जना सदस्यहरुलाई पद तथा गोपनियताको सपथ समेत गराएका थिए ।

समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का पुर्णा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डांगी, नेपाली काँग्रेसका अङ्गबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित भएका थिए ।

पदभारग्रहण कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई जिल्लाको विकासका लागि एकमत हुन आग्रह गरेका छन् । उनले अब यो पार्टी त्यो पार्टी नभनेर जिल्लाको विकासका लागि एकमत हुनु आग्रह गरे ।

नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले राजनीतिक आग्रह पूवाग्रह नराखी जिल्ला समन्वय समिति र आफुले पुरा गर्नुपर्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वय गरी विकास निर्माणसँगै जिल्लाको समग्र विकासमा सबैसँग हातेमालो गर्ने बताए ।

निवर्तमान जिसस प्रमुख प्रेमबहादुर थापाले आफ्नो कार्यकालमा भएका कामहरुबारे जानकारी दिँदै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिए । उनले जिल्लामा हाल देखा परेका समस्या समाधानमा केन्द्रीत हुन आग्रह गरेका छन् ।