Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

किवी खेतीमा बढ्दै आकर्षण

दैलेख  :  किवी खेतीतर्फ दैलेखका किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै छन् । जिल्लाको भैरवी गाउँपालिका,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।

भैरवी गाउँपालिका –७ का राजेश कँडेलले आफ्नो अध्ययनको विषय सँगै ब्यसायिक रूपमा किवी खेती सुरु गरिएको बताए । उनले कर्णाली प्राविधिक शिक्षालय बाट कृषि बाली विज्ञान अध्ययन पश्चात् किवी खेती सुरु गरेको बताए । उनले कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षा पढेका युवाहरूलाई तालीम दिएको र तालीम पश्चात् दोलखा जिल्लामा गएर आएपछि ब्यबसायिक रूपमा खेती गर्न सुरु गरेको बताए । अघिल्लो वर्ष ९० केजी किवी उत्पादन भएको र प्रतिकेजी तीन सयका दरले बिक्री गरेको बताउँदै यो आर्थिक वर्षमा दुई क्विन्टल सम्म उत्पादन हुनेछ ।

भैरवी गाउँपालिकाका –७,६ का ३० जना भन्दा बढी किसानले किवी खेती सुरु गरे पनि १० जनाले भने तीन सय भन्दा बढी बिरुवा रोपेको बताए । उनले दिएको जानकारी अनुसार तीन चुले हिमाली बागवानी पशु तथा कृषि सहकारी मार्फत कृषि विकास कार्यालय बाट किवी ब्लक कार्यक्रमबाट १० लाख र सहकारीको १० लाख र प्रदेश सांसद विकास कोष मार्फत १९ लाख बराबरको सिचाई योजना निर्माण गरी किवीको ब्यबसायिक खेती सुरु गरेका छौ ।

गुराँस गाउँपालिका –७ मा समृद्ध कर्णाली एग्रोफर्म प्रा.लीले समेत ब्यबसायिक किवी खेती सुरु गरेको छ । समृद्ध कर्णाली एग्रोफर्म प्रा.लीका सञ्चालक सदामसिहं राठौरले नौ सय किवीको बिरुवा रोपिएको बताए । उनले अहिले फर्ममा पिलर हान्ने कामहरू भइरहेको बताउँदै कृषि विकास कार्यालयको साझेदारीमा १० लाख रुपियाँ सहित फर्ममा ६५ लाख बराबरको रकम खर्च गरिएको बताए । उनले भने अहिले पाँच जनालाई रोजगारी दिएका छौ ।

कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र थापाले जिल्ला भर १८ दशमलव पाँच हेक्टरमा किवी खेती गरिएको बताए । उनले एउटा किवीको बिरुवा रोपेको चार वर्षपछि सुरु हुने एक बिरुवा बाट बर्सेनि ४० देखि ५० केजीसम्म उत्पादन लिन सकिने बताए । उनले पछिल्लो समय किसान बाट किवीको बिरुवाको माग अत्यधिक आउने गरेको केही बिरुवा कृषि कार्यालय बाट वितरण गरेको बताए । किवी खेती १२ सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिन्छ । मेलम्चीमा १७ सयदेखि १८ सय फिटसम्म किवी खेती हुने कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

गहुँ, मकै, कोदो जस्ता खेती बाली लगाउँदा वर्षमा तीन महिना मात्रै खान पुग्ने गाउँमा १ रोपनी जग्गामा लगाएको किवी खेतीले वार्षिक एक लाख सम्मको आम्दानी दिने भएपछि किवी खेती सुरु गरेको किसानहरूले प्रतिक्रिया दिएका छन् ।