३३ लाख थान पाठ्यपुस्तक छपाइ बाँकी
भक्तपुर : यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको हो।
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ। विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघिनै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो।
जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ। चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्यपुस्तक छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।
जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाइ भइरहेको जनाएको छ। ‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौँ, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाइ सक्छौँ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन् ।
केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाउँदै उनले काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताए। बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एकरदुई ट्रक पठाइरहेको पनि उनले जानकारी दिए।