Loading... आजः मङ्लबार, कार्तिक २०, २०८१
Trending

मानसिक समस्यामा परेका परिवारको स्वास्थ्य बिमा

फाइल फोटा

दैलेख  :  मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । जिल्लाको नारायण नगरपालिकाले एक सय ८९ जना मानसिक स्वास्थ्य समस्या परेका बिरामीका एक हजार ८५ जनाको स्वास्थ्य बिमा गरिएको हो । नारायण नगरपालिका –५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श गर्ने गरेको बताउँदै उहाँहरूको उपचारमा सहजता ल्याउने उद्देश्यले उहाँको परिवार सबैको स्वास्थ्य बिमा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसी) को नारायण नगरपालिकाको संयुक्त साझेदारीमा सञ्चालित समावेशी सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता सिता चौधरीले नारायण नगरपालिकामा दुई ५२ जना र दुल्लु नगरपालिकामा दुई सय ८२ जना गरी पाँच सय ३४ जना मानसिक समस्या भएको बिरामी रहेको जानकारी दिइन ।

उनले नारायण नगरपालिकामा बसोबास गर्ने महावु गाउँपालिका,भैरवी गाउँपालिका र नौमुले गाउँपालिकाकाका मानसिक समस्या भएका बिरामीको बाहेक नारायण नगरपालिकाका बिरामीहरूको स्वास्थ्य बिमा गरिएको बताइन । उनले भनिन नारायण नगरपालिकाका एक सय ८९ जना मानसिक समस्या भएका बिरामी र बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको र दुल्लु नगरपालिकामा पनि बिमा गर्न सुरु गर्न लागिएको छ ।

स्वास्थ्य बिमा बोर्ड दैलेखका संयोजक बिनोद शर्माले मानसिक समस्या भएका एक हजार ८९ घर परिवारका एक हजार ८५ जना र अन्य १६ हजार ३३० जनाले स्वास्थ्य बिमा गरिएको बताए । उनले स्वास्थ्य बिमा भित्र समान्य परिवार,महिला स्वास्थ्य स्वयमसेविका,जेष्ठ नागरिक, अपाङग, क्षयरोग, एचआइभी एड्स,कुष्ठरोग लागेका नागरिकले स्वास्थ्य बिमा गरेको जानकारी दिए ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नगरपालिकाका बासिन्दाहरूमा पछिल्लो समय मानसिक समस्या हुने नागरिकहरू बढ्दै गएको नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्ताले सेवा दिइरहेको बताउँदै आगामी दिनमा समस्या समाधान गर्न नीति तथा कार्यक्रम बाट बजेटको व्यवस्थापन गरेर कार्यक्रमको निरन्तरता दिने बताए ।

उनले परिवारमा कलह र झैझगडा, किशोरावस्थामा प्रेम सम्बन्ध र यौन जीवनका विविध समस्याका कारण मानसिक समस्यामा पर्ने गरेको बताउँदै मानसिक समस्या भएका नागरिकलाई मनोसामाजिक परामर्शको माध्यमाबाट समाधान गर्न चिकित्सकसँग समन्वय गर्न आफू तयार रहेको बताए ।