Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली राजमार्गमा बस दुर्घटना,मृतक चार जनाको सनाखत

दैलेख  :  मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा बुधवार भएको दूर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले दुर्घटनामा परी मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका २ का प्रेम सुनार र काँशिराम पाण्डे ,कालिकोट जिल्ला पलाता गाउँपालिका– ३ का ज्ञान बहादुर वम र धनकलाशाही रहेको जानकारी दिए । उनले मृतकहरुको शव जिल्ला अस्पताल दैलेखमा ल्याइएको र पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरेको बताए ।

उनले दिएको जानकारी अनुसार कालिकोट र दैलेखको राकमकर्णाली चेक पोष्टमा गाडी इन्ट्रि गर्दा ३५ जना भएको उल्लेख गरिएको भएपनि दुर्घटनामा ६४ जना भन्दा बढि रहेका थिए । ६४ जना मध्ये चार जनाको मृत्यु भएको दुई जना गम्भिर घाइते रहेका छन ।

घाईतेहरुको पादुकामा रहेको स्थानीय मेडिकलमा सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । घटना लगत्तै दैलेखको आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्याय, राकमकर्णाली,पाल्तडामा रहेको सशस्त्र प्रहरी बलको टोलीले घाईतेको उद्धारको काम सुरु गरिएको थियो । उद्धार भएकाहरुलाई कोहीलाई एम्बुलेन्स त कोहीलाई अन्य बसहरुमा सुर्खेत पठाईएको छ ।

दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदिको तिरमा खसेको छ । बसमा करिव ५० जनाभन्दा बढी यात्रा गरेको र तीब्र गतिका कारण बस दुर्घटना हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ । प्रहरी प्रमुख साहले गाडी चालकलाई नियन्त्रणमा लिएको र सोधपुछ गर्दा ब्रेक फेल भएर गाडी दुर्घटना भएको बताएको बताए ।