Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

पाँच महानगरमा सहमति, भरतपुर माओवादीले नै पाउने निश्चित


काठमाडौँ  :  सत्तारुढ गठबन्धनबीच सोमबार साँझ बसेको सिट बाँडफाँटसम्बन्धी बैठकले देशभरिका ६ महानगरमध्ये ५ वटामा सहमति गरेको छ भने पोखराको विषय अझै टुंगिन नसकेको नेताहरुले जानकारी दिएका छन्।

बैठकमा काठमाडौँ, ललितपुर र विराटनगरमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ भने भरतपुर माओवादीले पाउने भएको छ। त्यस्तै वीरगञ्ज जनता समाजवादी पार्टीले पाउने भएको छ। पोखरा महानगरमा भने समाजवादी र कांग्रेस दुवैको दाबी भएका कारण सहमति हुन नसकेको नेताहरुले जानकारी दिए।

बैठकबाट बाहिरिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेताहरुबीच समग्र विषयमा कुराकानी भएको र सकारात्मक दिशामा बैठक उन्मुख भएको जानकारी दिए। ‘६ महानगर र ११ उपमहानगरकै विषयमा वस्तुगत हिसाबले छलफल भयो, बैठक सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने।

बैठक मंगलबार फेरि बस्ने गरी टुंगिएको छ। सोमबार बिहान र सोमबार अपराह्न दुईपटक बैठक बसी नेताहरुबीच छलफल भएको हो।
बैठकमा शीर्ष नेताहरुका अतिरिक्त कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिका सदस्यहरु पनि सहभागी थिए।