तीन न्यायाधीशले गरे विभूषण अस्वीकार
काठमाडौं : संसद् पुनर्स्थापना गरिदिएबापत गठबन्धन सरकारबाट पदक पाएको टिप्पणी भएपछि सर्वोच्च अदालतका तीन जना न्यायाधीश बिहीबार राष्ट्रपतिबाट हुने विभूषण समारोहमा अनुपस्थित भएका छन् ।
२०७७ फागुन ११ गतेको संसद् पुनर्स्थापनाको फैसला गर्ने संवैधानिक इजलासका पाँचै जना न्यायाधीशलाई सरकारले पदक दिने निर्णय गरेको थियो । संविधान दिवसका अवसरमा भएको निर्णयमा संवैधानिक इजलासका अध्यक्ष चोलेन्द्र शमशेर जबरालाई महा उज्ज्वल राष्ट्रद्धीप पदक दिएको थियो ।
हाल सत्ता गठबन्धनसँगै स्वार्थ बाझिएपछि महाअभियोग खेपेर निलम्बनमा परेका राणालाई विभूषण समारोहमा बोलाइएको थिएन । बाँकी चार न्यायाधीशमध्ये विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा र सपना प्रधान मल्लले पदक लिन अस्वीकार गरेका छन् ।
सरकारले न्यायाधीशलाई पदक दिने कुराले निष्पक्ष न्यायमा प्रश्न उठ्ने र गुन लाए बापत पदक दिएको भन्ने टिप्पणी सबैतिर भएपछि ती न्यायाधीशले बिहीबार विभूषण समारोहमा गएर पदक नलिएका हुन् । सपना मल्लले पदकको घोषणा भएकै बेला नलिने बताएकी थिइन् । न्यायाधीश तेजबहादुर केसीले भने ४० वर्षको न्याय सेवामा पहिलो पटक पदक पाएको भन्दै लिने बताएका थिए ।
न्यायाधीश श्रेष्ठले उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक पाएका थिए भने अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाएका थिए । संसद् पुनर्स्थापना गर्ने तीन न्यायाधीशले पदक अस्वीकार गरे पनि दुवै मुद्दामा परमादेशको पक्षमा बहस गर्ने तथा सत्ता गठबन्धनका शीर्ष नेताहरूकै भाषामा ‘मुद्दा जित्ने माहौल बनाएर गुन लाउने’ कानून व्यवसायीहरूले भने सरकारबाट प्राप्त पदक लिएका छन् ।