Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

काठमाडौँ  :  सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ, सूची सार्वजनिक भएपछि लागू हुन्छ ।ु स्थानीयस्तरमा चल्ने (लोकल) सवारीसाधनको भाडा भने नबढ्ने उनले स्पष्ट पारे ।

साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ । घिमिरेका अनुसार विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको हो ।