Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

पूर्व विद्यार्थी समाजद्धारा निशुल्क स्वास्थ्य शिविर

दैलेख  :  जिल्लाको भैरवी गाउँपालिका–२ रावतकोटको पञ्चदेवल मावीका पूर्व विद्यार्थीहरुले गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विद्यालयको पूर्व विद्यार्थीहरुद्धारा स्थापित पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा झन्डै एक हजार चार सय बिरामीको उपचार गरिएको छ । गाउँमै डाक्टर पुगेपछि यहाँका विपन्न घरपरिवारका बिरामीले बर्षौपछि उपचार पाएका छन् । शिविरबाट बुद्धबृद्धा, बालबालिका, महिला तथा आर्थिक रुपमा विपन्न नागरिकहरु लाभान्वित भएका छन् । विद्यालयमै आयोजित दुई दिने शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

शिविरमा उपचारका लागि आउनुभएका स्थानीय विष्णुप्रसाद तिमिल्सेनाले गाउँमै निशुल्क स्वास्थ्य उपचार सेवा पाउँदा खुसी लागेको बताए । उनले भने महंगो अस्पतालहरुमा गएर उपचार गराउन सक्दैनौ, आर्थिक अवस्था निकै कमजोर छ । पञ्चदेवल मावीमा पढेका पूर्व विद्यार्थीहरुले गाउँलेलाई ठुलो सहयोग गरेका छन उनीहरुको भलो होस ।

सोहि विद्यालयमा माध्यामिक तहसम्म अध्ययन गर्नुभएका डा. जगत थापाले उपचार गर्न नसकेर झण्डै पाँच बर्षदेखि थला परेर बसेका नागरिकहरुको शिविरमा उपचार गरिएको बताए । उनले आफुले अध्ययन गरेको विद्यालयमा आफ्नै सहयोगमा स्वास्थ्य शिविर संचालन गर्दा अत्यन्त खुसी भएको बताए । उनले भने यहिका नागरिकले स्थापना गरेको विद्यालयमा पुगेर कोही डाक्टर ,इन्जिनिएर,निजामती कर्मचारी भयौ उहाँहरुका लागि पनि केही गर्नुपर्छ भनेर शिविर राखेको बताए । शिविरमा आएका अधिकाँस नागरिकहरुको रोग पत्ता लगाएको र त्यसको औषधी वितरण गरेको बताउँदै महिलाहरुको पाठेघर खस्ने लगाएतका समस्या देखा परेको छ ।

पञ्चदेवल पूर्व विद्यार्थी समाजका सदस्य निराजन विष्टले शिविरमा एक जना आर्युवेद र ६ जना एलोप्याथिक चिकीत्सकहरुले निशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा दिएको बताए । उनले शिविरमा ओपीडी उपचार सेवा सहित ल्याब र भीडियो एक्सरे सेवा तथा निशुल्क औषधी वितरण समेत गरिएको जानकारी दिए ।

पूर्व विद्यार्थीहरुबीच एकता र भातृत्वको भावना विकास गर्दै आफ्नो कमाईको निश्चित अंश योगदान गर्दै मानव हितकारी र समाजसेवाका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्ने उदेश्यले समाज स्थापना गरिएको समाजका उपाध्यक्ष तेज बहादुर थापाले बताए । उनले पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपाल समाज ४६ जना संस्थापक सदस्य, ४५ जना आजीवन सदस्य र एक सय ५० जना साधारण सदस्य समाजमा आबद्ध रहेको जानकारी दिए । समाजकै अग्रसरतामा क्यान्सर पीडित दुई जनालाई संस्थाको तर्फबाट ४० हजारसहित सहयोग संकलन गरेर प्रतिव्यक्ति ९२ हजार रुपैयाँ प्रदान गरिएको थियो जानकारी दिइएको छ ।