Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

हिंसामुक्त कार्यस्थलका लागि प्रतिवद्धता

सुर्खेत  :  हिंसामुक्त कार्यस्थलका लागि कर्णालीका अगुवा पत्रकारहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहिबार मिडिया एड्भोकेशी ग्रुप म्याग, सोलिडारिटी सेन्टरको आयोजना र फरकबाटो मिडिया प्रालीको समन्वयमा आयोजित नेटवर्किङ मिटिङ मा सहभागी अगुवा पत्रकाहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकार महिलाहरु सहकर्मीबाटै असुरक्षित हुँदा काम गर्ने वातावरण नहुने बताए । महासंघले पत्रकार महिलाहरुको सुरक्षाको विषयमा सोच्नुपर्ने बेला आएको भन्दै उनले हिंसा र दुर्व्यवहार गर्नेहरुले माफी नमागे कानुनी कार्रवाहीका लागि अगाडि बढ्न सुझाए । उनले सञ्चार माध्यमहरुले पत्रकार महिलाहरुलाई सुरक्षाको ग्यारेण्टि दिनुपर्ने धारणा राखे ।

महासंघका उपाअध्यक्ष सुदिप पुरीले समेत सामाजिक सञ्जालहरुमा पछिल्लो समय पत्रकार महिलाहरुका विषयमा नकारात्मक टिप्पणी आइरहेको भन्दै समयमै सचेत नगराए दुर्र्ववहार गर्नेहरुको मनोबल झन् बढेर जाने तर्क गरे । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले हिंसा र दुर्र्ववहारको शिकार पुरुष समेत भएकोले यसको विषयमा समेत सोच्नुपर्ने धारणा राखे ।

पत्रकार माया थापाले अन्यायका विरुद्ध कुनैपनि हालतमा एकजुट भएर लाग्नुपर्ने बताईन् । आइएलओ महासन्धि १९० ले अघि सारेका कुराहरुलाई समेत अबलम्बन गरेर कार्यस्थल सुरक्षित गराउनुपर्नेमा उनले जोड दिएकी थिइन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाअध्यक्ष बिमला खड्काले समेत महिलाहरुका बारेमा नकारात्मक टिप्पणी गर्ने, सामाजिक सञ्जालमा महिलाको अपमान हुनेगरी लेख्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताईनन् ।

कार्यक्रमको अवसरमा कर्णालीका पत्रकार महिलाहरुले सामाजिक सञ्जालमा पत्रकार महिलाहरुको चरित्रहत्या हुनेगरि विभिन्न नकारात्मक कुराहरु लेख्नेहरुका विरुद्धमा प्रेश विज्ञप्ती जारी गरि नेपाल पत्रकार महासंघ सुर्खेत र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई बुझाएको छ । सभार फरकबाटो