Loading... आजः मङ्लबार, जेष्ठ ८, २०८१
Trending

आत्महत्या गर्न बाध्य पारेको भन्दै श्रीमानलाई डेढ वर्ष कैद

दैलेख  :  चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी सुकी बडूवालका श्रीमानलाई डेढ वर्ष कैद सजाय तोकिएको छ । २०७७ फागुन २३ गते आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षिया सुकीले आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान् ३८ वर्षिया मानसिंह बडूवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

मुलुकी अपराधसहिंता ऐन २०७४ बमोजिम जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासबाट सोमबार कसुर दारलाई उक्त सजाय भएको दैलेख जिल्ला अदालत दैलेखका श्रेस्तदार इन्द्र बहादुर कार्कीले जानकारी दिए । कर्णाली नदीमा सुकी बडूवाल, उनका छोरीहरू १५ वर्षिया कल्पना बडूवाल, १२ वर्षिया सरिता बडूवाल, ७ वर्षिया रजनी बडूवाल र १० वर्षिया छोरा ललित बडूवाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै ०७७ चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा सुकीका भाइ आठबीस नगरपालिका–३ निमायलका बजिर सिंह थापाले जाहेरी दिएका थिए ।

सुकी र चार छोराछोरीसमेतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको जाहेरीको आधारमा प्रहरीले २०७७ चैत १२ गते प्रहरीले सुकीका श्रीमान् मानसिंह बडूवाललाई पक्राउ गरेको थियो । सुकी बडूवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात् २०७७ फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षिया कल्पना र १२ वर्षिया सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षिया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । कान्छी छोरी रजनीको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०७७ चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेकै इजलासबाट कसुर दारलाई पुर्पक्षका लागि थुनामा दैलेख कारागार पठाइएको थियो ।