Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

कलाकार जयनन्द लामाको निधन

काठमाडौं  :  कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हो । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए ।

उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा निरन्तर चलचित्रमा अभिनयमा सक्रिय थिए। उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले।