Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

आयोगद्वारा दल दर्ता आह्वान

काठमाडौँ  :  निर्वाचन आयोगले स्थानीय तह प्रयोजनका लागि बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ । त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ ।

आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने हुन्छ । आव २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । आव ०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आव २०७६७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा अलग(अलग रहेका दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।