जयनगरबाट रेल जनकपुर आइपुग्यो


जनकपुर : लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालनमा आएको छ।नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो।रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन्।रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ड्राई रन सञ्चालन भइरहने छन्।
ट्राई रनको सफलतापछि ड्राई रन गरिनुले नियमिति सेवा सञ्चालनको सुनिश्चिता भएको भन्दै स्थानीय खुशी भएका हुन्। ड्राई रनको लागि धनुषाको इनर्वाबाट जनकपुरधाम स्टेशन रेल आइपु्गेपछि स्थानीयले स्वागत गरेका छन्।जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले रेलको ड्राई रनले नगरवासीमा खुशीयाली छाएको बताए ।
‘यात्रु बोकेर नियमित सेवा सञ्चालनको प्रतिक्षामा नागरिक छन्’, उनले भने दुई हप्ताभित्रै यो प्रतिक्षा पनि पूरा हुने विश्वास छ । नेपाल उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले ड्राई रनले रेल सञ्चालन हुने सपना पूरा हुने विश्वास छाएको बताए । रेल नियमति सञ्चालनमा आएपछि यहाँको उद्योग व्यवसाय, पर्यटन व्यवसायी लगायत व्यापार व्यवसायी फस्टाउने उनले बताए ।
नियमित सेवा सञ्चालनको पूर्वाभ्यासको लागि ड्राई रन सुरु गरिएको नेपाल रेल–वे कम्पनीका इन्जिनियर रविन्द्र साहले बताए । नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विगत १७ महिनादेखि थन्काएर राखिएका रेलको सम्पूर्ण प्राविधिक चेक जाँचको लागि ड्राई रन सुरु गरिएको बताए ।
कुर्था–जयनगरसम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल मार्गको व्यवस्थापनका लागि जनप्रतिनिधिसँग छलफल आवश्यक भएको महाप्रबन्धक झाको भनाइ छ । २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट डेमो रेलमा दुई वटा इन्जिनसहित १० वटा बोगी रहेका छन् । दुबै बोगी गरी १३ सय ५० यात्रु बोक्ने क्षमता रहेको छ ।
जनकपुर–कुर्था–जयनगरसम्म सामान्य सिटमा प्रति यात्रु ७० र एसी सिटमा ३०० भाडा निर्धारण गरिएको छ । रेल सञ्चालनको लागि नेपाली ५९ र भारतीय २६ जना कर्मचारी परिचालन गरिने उनको भनाइ छ । ड्राइ रनमा भारतीय कोकण रेल्वे कम्पनीका चालकसहित १४ जना प्राविधिक खटाइएको छ ।

