घोडा बासमा अस्थायी प्रहरी पोष्ट स्थापना
दैलेख : जिल्लाको गुराँस गाउँपालिका –४ घोडा बासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । दैलेख सुर्खेत सडक खण्डर्को घोडा बास बजारमा आइतबार पोष्ट स्थापना गरिएको हो । जिल्लाको सबै स्थानीय तहमा प्रहरीको प्रभावकारी उपस्थिति बनाई शान्ति सुरक्षा प्रत्याभूति गराउने उद्देश्य तथा स्थानीय तहबाट चौकी स्थापनाको मागलाई सम्बोधन गर्दै घोडा बासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले प्रहरी प्रधान कार्यालय कार्य विभाग हुँदै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आदेश अनुसार घोडा बासमा प्रहरी पोष्टको स्थापना गरिएको बताए । उनले अस्थायी प्रहरी पोष्टको आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्घाटन गरेको बताए ।
उनले भने प्रहरी हेडक्वाटर बाट ६ गते अस्थायी प्रहरी पोष्ट घोडाबासको स्वकीकृत भएको भएपनि उद्दघाटन भने आइतवार मात्र सम्भव भएको छ । गुराँस गाउँपालिकाका लालिकाँडा र रानिमत्तामा प्रहरी चौकी भएको र भौगोलिक अवस्थाका अनुसार अस्थायी प्रहरी पोष्टको माग आएपछि स्वीकृत भएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले अस्थायी प्रहरी पोष्टको उद्दघाटन गर्दै समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक दुबैको भुमिका महत्वपुर्ण हुने बताए । उनले समाजमा घट्ने अपराधिक घटनालाई निश्तेज पार्ने र शान्ती सुब्यबस्था कायम राख्न प्रहरी पोष्टको स्थापना गरिएको बताए ।
घोडाबासमा स्थापना गरिएको प्रहरी पोष्टले प्रहरी चौकी रानिमत्ता र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरको बिच क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, अपराध न्यूनीकरण गर्ने र राजमार्ग सुरक्षालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।