Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

 कोरोना संक्रमणको पूर्व तयारीस्वरुप ७ करोड बढि बजेट व्यवस्थापन

सुर्खेत :  (कोभिड–१९) को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्ने पूर्व तयारीस्वरुप ७ करोड ४४ लाख बराबरको बजेट व्यवस्थापन गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले एम्बुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रतिअस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ पठाइसकिएको जानकारी दिए ।

शव वाहन खरिद गर्न दैलेख, कालिकोट, सल्यान र रुकुमपश्चिमका स्वास्थ्य सेवा कार्यालयलाई प्रतिअस्पताल १२ लाखका दरले ४८ लाख पठाईसकिएको पनि उनले जानकारी दिए । प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड बजेट छुट्याईएको छ भने सुर्खेतको पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरी जम्मा २ करोड ४८ लाख बजेट सम्बन्धित कार्यालयलाई पठाइसकिएको पनि मुख्यमन्त्री शाहीले बताए ।

‘स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई पूर्ण सतर्कता र तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘प्रदेशवासीहरूमा स्वास्थ्य सतर्कता र सुरक्षित व्यवहारका लागि हामीले अपिल पनि गरेकै छौं ।’ जिल्लास्थित विभिन्न स्थानीय तहमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि प्रतिइकाई ५ लाखका दरले ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराइ सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर गरिएको उनको भनाइ छ । कर्णाली प्रदेशले कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजनको ठूलो अभाव भोग्नुपरेको थियो । अहिले कर्णाली प्रदेश अस्पतालमा १, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवम् चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर नगरअस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा यूएनडीपीको साझेदारीमा १, जिल्ला अस्पताल दैलेखमा १, कालिकोटमा १ रुकुम पश्चिममा १ गरेर आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमै धेरै संक्रमितले ज्यानसमेत गुमाएका थिए । मुख्यमन्त्री शाहीले भने, ‘कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि सरकार हरसम्भव प्रयासमा लागिरहेको छ । यसका लागि कर्णाली भित्रिने मुख्य तीन वटा नाकामध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीड्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखि कोरोना परीक्षण तथा जामुमा १५ बेडको सञ्चालनमा ल्याएको छ ।’ यस्तै कर्णालीको मुख्य प्रवेशद्वार रहेको बबईमा भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकलाई भेरीगंगा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माण हुने स्थलमा होल्डिङ सेन्टर निर्माणको काम सुरु भइसकेको उनले बताए । मुख्यमन्त्री शाहीले प्रदेश सरकार नागरिकको घर–आँगनको सरकार भएकोले जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताए । साभार नेपाली रैवार