Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

खोलामा करेन्ट लगाएर माछा मार्नेलाई जरिवाना

दैलेख  :  जिल्लाको गुराँस गाउँपालिका–२ लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा पक्राउ परेकाहरुलाई स्थानीय प्रशासनले जनही ५ हजार जरिवाना गरेर छाडेको छ । मंगलबार लोहोरे खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा प्रहरीले गुराँस गाउँपालिका–४ का ३३ बर्षीय हर्क बहादुर शाही, २६ बर्षीय रमेश पुन र २६ बर्षीय रबिन्द्र बहादुर शाहीलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहका अनुसार पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएका सामानहरु १२ भोल्टको ब्याट्री, मेसिन, क्वाएल रड, माछा मार्ने जाल र झण्डै ६ केजी माछा नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई मंगलबार नै जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा पेस गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उनीहरुलाई जनही ५ हजार जरिवाना गर्ने निर्णय सुनाएका थिए । उनीहरु सबैले जरिवाना तिरेर मंगलबार नै छुटेका छन् ।