Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न : अध्यक्ष ओली

रुपन्देही  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए । मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे । ओलीले भने,‘केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।’

आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो । मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको भन्दै उनले आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको बताए ।

कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको ओलीले स्मण गरे ।
‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले आफ्नो कमजोरीले सरकारबाट नबाहिरिएकाले नै छिट्टै चुनावमा जान चाहेको बताए । ‘हामी जनताबाट डराएका छैनौं, हामी चुनाव चाहन्छौं, परमादेशको गठबन्धन सरकार र यसैमा रमाएका सहयात्रीहरु चुनावबाट डराएका छन्,’ उनले भने ।

कार्यक्रममा एमाले सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतले सम्बोधन गरेका थिए । एमाले प्रवेश गरेका नेता मंगलप्रसाद गुप्ताले कपिलवस्तुलगायत यस क्षेत्रको विकासको गति थप अगाडि बढाउने बताए । मंगलबार अन्य पार्टी परित्याग गरी ६ हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष छविलाल पोखरेलले जानकारी दिएका छन् ।