Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

दैलेखमा किशोरीमै आमा बन्ने ३३ प्रतशित

फाइल फोटा

दैलेख  :  नारायण नगरपालिका –६ नमुना बस्तीका एक किशोरी उम्मेरले २० पुगीन । २० वर्ष उम्मेर नपुग्दै उनका दुई सन्तान छन । उनीमात्र होईन उक्त नुमना बस्तीमा रहेकी १० जना भन्दा किशोरी आमाहरु छन । कानून् अनुसार २० वर्ष नपुग्दै बिहे गर्न पाईदैन ।

जिल्लामा बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकरी सङ्घसंस्थाले विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन । तर त्यसको कार्यान्वयन हुन नसक्दा किशोरीहरु बाल बिवाह गर्ने र किशोरी अवस्थामै आमा बन्ने समस्या देखिएको छ ।  जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्यमा सुत्केरी हुन आउँने महिलाहरु मध्ये ३३ प्रतिशत किशोरी छन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले उमेर नपुग्दै यहाँ प्रसूति सेवा गर्न आउनेमध्ये अधिकांश १६ देखि १८ वर्ष उमेर समूहका किशोरी रहेको बताए । उनले सबैभन्दा बढी १७ देखी २० वर्ष उमेरका महिलाले प्रसूति सेवा लिएको बताए ।

उनले भने यो अवस्था जटिल छ सानै उमेरमा बिवाह गर्ने र परिवार नियोजनका स्थायी साधन प्रयोग गर्ने लाज मान्ने प्रबितिका कारण किशोरीहरु बढि आमा बन्न समस्या देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका अनमी कमला भट्टराईले किशोरी उमेरमै आमा हँुदा आमा र बच्चा दुवैलाई विभिन्न खालका स्वास्थ्यमा समस्या देखिने गरेको बताइन । उनले कम उमेरमै बच्चा जन्माउँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुन सक्ने, महिलाको योनी मार्ग बढी च्यातिनेलगाय जस्ता समस्या देखिने बताइन ।

उनले भन्नि हाम्रो समाजमा गर्भवती हुँदा वा प्रसुती हुँदा समेत काम गर्ने आराम नगर्ने हुँदा महिलाहरुको पाठेघर खस्ने समेत समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र प्रसुती हुने ३३ प्रतिशत किशोरी छन भने अन्यपालिकाको तथ्याङक हेर्नहो भने समस्या जटिल छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जिल्लामा बाल बिवाहको समस्या निकै भएको बताए । उनले आफु जिल्लामा आएको एक हप्ता हुनै लाग्दा समेत चार जोडि बालबिवाह गर्ने पक्राउ गरिएको बताए । उनले जिल्लामा उमेर नै नपुगी विवाह मात्र होइन कलिलै उमेरमा बच्चाको आमा बन्नेमा वृद्धि हुँदा एउटा ठूलो चुनौती बनिरहेको बताए । समाजमा बाल बिवाह गर्दा समेत खवर नगर्ने र पछि परिवारमा खटपट भएपछि मात्र प्रहरीलाई खवर गर्ने प्रचलन समेत बढेको बताए ।

महिला अधिकारकर्मी तथा महिला शसक्तिकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले जिल्लामा बिगत वर्षहरु भन्दा पछिल्ला वर्षहरुमा बाल बिवाह गर्ने संख्यामा कमी आएको बताइन । उनले कम उमेरमा आमा बन्नुपर्दा हुने जोखिम बारे विद्यालय स्तरमा नै सचेत एंव शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताइन ।

उनले भन्नि ग्रामीण भेगमा स्कूले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति र अभिभावक समेत जिम्मेवार नबन्दा समस्या हुने गरेको छ । उनले महिला शसक्तिकरण मञ्च मार्फत बाल बिवाह न्युनीकरण  गर्न स्थानीय स्तरमै नमुना जोडि बनाएर प्रत्येक घरमा पुगेर बालबिवाह सम्बन्धी प्रशिक्षण दिने गरेको बताइन ।

जिल्ला अस्पताल दैलेखका डाक्टर जीवन ज्ञावलीले उमेर नपुगी अस्पतालमा आउने अधिकांश ती महिलाको शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने बाध्यता भएको बताए ।

उनले भने आमा र बच्चाको दुबैको सुरक्षाका लागि शल्यक्रिया गर्नु पर्ने बाध्यता छ । विशेष गरी आदिवासी जनजाति, दलित समुदायका महिला सानै उमेरमा विवाह गर्ने र गर्भवती हुने गरेका पाइएको छ । अस्पतालका अनुसार गत आर्थिक वर्षमा एक हजार २४८ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।