Loading... आजः आइतवार, कार्तिक ११, २०८१
Trending

अस्पतालमा सेवा बिस्तारमा फड्को,जनशक्तिको अभाव कायमै

दैलेख  :  जिल्ला अस्पताल दैलेखले स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालेको छ । कोरोना महामारीका बिच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक नुहदा सकस हुने गरेको छ । कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् ।

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सहित १३ जना डाक्टरको दरबन्दी भए पनि अहिले प्रदेश सरकारले खटाएको र छात्रबृत्रिमा अध्ययन गरेका आठ जना डाक्टर मात्र कार्यरत रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका निमित्त प्रमुख थीर प्रसाद रेग्मीले जानकारी दिए । तेह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक नभएको जानकारी दिए । उनले भने डेनटलको डाक्टर सहित नौ जना डाक्टर करारमा रहनुभएको छ ।

उनले छाबृत्रिमा अध्ययन गरेका डाक्टरले अनिवार्य सम्बन्धित जिल्लामा चार वर्ष काम गर्नु पर्ने प्रावधान भए पनि अदालतको फैसलाले दुई वर्षमा झारेको र अस्पतालमा कार्यरत डाक्टर जीवन ज्ञवाली र जगत थापाको करार अवधि सकिन लागेको बताए ।उनले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट,एचडियु बेड,पिसिआर प्रयोगशाला,सामाजिक इकाई,आफ्नै फार्मेसी ,नयाँ भवन निर्माण जस्ता कार्यहरू सञ्चालन भएको जानकारी दिए ।

जिल्ला अस्पताल दैलेखका सुब्बा प्रेम बहादुर विष्टले आफूले चिकित्सकको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालय र सङ्घीय सरकारमा समेत जानकारी गराए पनि सुनुवाइ नभएको बताए । उनले दुई जना डाक्टर जीवन ज्ञवाली र जगत थापा गएको खण्डमा सिएस् सेवा समेत रोकिने बताए ।

उनले भने अस्पतालमा अन्य कर्मचारीको समेत अभाव हुदैछ , २५ जना कर्मचारी एकै पटक अनिवार्य अवकाश पाउन लाग्नुभएको छ करारमा राखेका कर्मचारीलाई प्रदेश सरकारले तलब पठाएन कसरी अस्पताल चलाउने भन्ने समस्या रहेको छ । अस्पतालमा उपकरण थपिँदै गएका छन् , अस्पताल विकास समिति पनि गठन हुन सकेको छैन ।

१५ शय्या अस्पताल स्वीकृत भए पनि ५० शय्याको अस्पताल बराबर सेवा दिनुपरेको भन्दै यो वर्ष मात्र प्रदेश सरकारले ५० शय्याको अनुमति प्रदान गरेको र त्यसै अनुसार १८ करोडको लागतमा अस्पतालको नयाँ भवन निर्माण हुन लागेको अस्पतालले जानकारी दिएको छ ।

अस्पताले जिल्लाका ११ स्थानीय पालिकाका नागरिकलाई निःशुल्क औषधी वितरणका लागि गत वर्ष २५ लाख पठाएको भए पनि यो वर्ष १५ लाख मात्र पठाएको भन्दै समस्या भएको जनाएको छ ।