Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

बालबिवाह गर्नेलाई छ महिना कैद

दैलेख  :  बालविवाह गरेको कसूरमा एक युवकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई १५ बर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको कसूरमा उक्त सजाय भएको हो ।

२०७८ कात्तिक २६ गते सुर्खेतबाट ती बालिकालाई ललाई फकाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतमा मुद्दा पेश भएकै दिन आइतवार सजाय भएको हो । बालिकालाई ३ महिना कैद र २५ सय रुपैंयाँ जरिवाना तोकिए पनि उनी आफै अन्जान भएको कारण सुध्रिने मौका सहित हाललाई सजाय स्थघन गरेर अभिभावकसंग बस्न पाउने फैसला भएको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बालविवाह भएको एक सातामा बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको जाहेरीपछि प्रहरीले गरेको अनुसन्धान आधारमा जिल्ला सरकारी वकील कार्यालयले बिहीवार दैलेख जिल्ला अदालतमा बालविवाह कसूरमा अभियोग पेश गरेको थियो ।

अभियोग सम्वन्धमा आइतवार बसेको बाल इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेले सो फैसला गर्नुभएको हो । जिल्ला अदालतमा मुद्धा दर्ता भएकै दिन फैसला भएको यो पहिलो मुद्धा हो ।