Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

जोन विकास कार्यक्रममा दुई करोड १९ लाख खर्च गरिँदै

दैलेख :  दैलेखमा रहेका बाली आलु,सुन्तला र बाख्रा जोन कार्यक्रममा आर्थिक वर्ष ०७८/०७९ मा दुई करोड १९ लाख ३९ हजार रुपैयाँ खर्च लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई दैलेखले जानकारी दिएको छ । बुधवार जिल्ला समन्वय समितिको कार्यालयमा आयोजना गरिएको आव ०७८÷०७९ को वार्षिक कार्यक्रमको समन्वयात्मक बैठकमा उक्त कुरा जानकारी गराइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई दैलेखले जिल्लाका गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा आलु जोन,दुल्लु नगरपालिकामा सुन्तला जोन कार्यक्रम र भैरवी गाउँपालिका ,महावु गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिका, नारायण नगरपालिकामा बाख्रा जोन कार्यक्रममा उक्त रकम खर्च गर्न लागिएको जानकारी दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई दैलेखका प्रमुख राम लोचन शाहले परियोजनाको उद्देश्यले प्रमुख कृषि उपचहरुको बिशिष्टकृत क्षेत्र निर्माण गर्ने, निर्यात योग्य बस्तुहरूको मूल्य अभिवृद्धि गर्ने, कृषिलाई सम्मान जनक व्यवसायका रूपमा विकास गरी रोजगारी सिर्जना उद्देश्यले जिल्लामा तीन वटा जोनका काम गरिरहेको बताए । उनले कोरोना महामारीका कारण श्रम बजार अस्तव्यस्त भई सामान्य जीवनयापन गर्न समेत मानिसलाई धौधौ परिरहेका बेला परियोजना बाट रोजगारी सिर्जना गर्ने गरी काम भइरहेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई दैलेखका कृषि अधिकृत शिवचन्द्र झाले परियोजनाको जोन विकास कार्यक्रममा सुन्तला जोन बिस्तार कार्यक्रममा,आलु जोनको क्षेत्र विस्तार र बाख्रा जोनको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले परियोजनाले कार्यक्रम सञ्चालन गर्नु पुर्व अनुदानका लागि आवेदन समेत माग गरिएको बताए । उनले मिनी टिलरका लागि १३,सुन्तला टिप्ने भ¥याङ आठ थान,स्प्रे टाङकी १४ थान,डिजिटल वेइङग ब्यालेन्स ५ थान, आरा मेसिन तीन थान,ड्रिल मेसिन २ थान, आरी ८८ थान,सेकिचर ८६ थान र फुट स्प्रेवर २ थानको माग निवेदन परेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन बास्वबिक कृषकलाई छनोट गर्न अनुदान वितरण गर्न परियोजनालाई निर्देशन दिए । उनले बिचौलीका रूपमा निवेदन ल्याएर आउने र पहुँचका भरमा अनुदान पाउने काम गरेको भन्दै त्यसलाई रोक्नु पर्नेमा उहाँले जोड दिए ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख प्रचण्ड खड्काले अनुदानका कार्यक्रम सञ्चालन गर्दा त्यसको प्राविधिक मुल्याङकन गर्न जरुरी रहेको बताए । उनले ५० प्रतिशत अनुदानमा बाख्रा खोर भन्ने तर कति बाख्रा राख्ने भन्ने विषय उल्लेख नगरेका कारण कार्यक्रमले लिएको लक्ष्य पुरा हुन नसक्ने बताए ।

कार्यक्रममा कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र थापाले कृषकका लागि दिने विभिन्न अनुदानका लागि सम्बन्धित कार्यालय एक ठाउँमा आउनु पर्ने बताए । उनले जिल्लामा रहेको कृषि विकास कार्यालय,पशु अस्पताल तथा पशु सेवा कार्यालय र पहाडी साना किसानका लागि अनुकूलन आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एक ठाउँमा आए मात्र अनुदानको दुरुपयोग हुन बाट रोक्न सकिने बताए ।

उनले भने कार्यालयका प्रमुखले आफ्नो स्वार्थ भन्दा पनि वास्तविक कृषकका लागि काम गर्नका लागि सबै सँग समन्वय गर्नु पर्ने बताए ।