Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

निर्बाचनले थाल्यो मतदाता नामवली संकलन

दैलेख :  जिल्ला निर्वाचन कार्यालय दैलेखले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका नौ वटा स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर–२८ देखि आगामी पुस–८ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख मनमाया काउचाले पहिलो चरणमा आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी   नगरपालिका, महावु गाउँपालिका,गुराँस गाउँपालिका,भगवतिमाई गाउँपालिकामा मतदाता नामवली संकलन गरिने बताइन । उनले दोस्रो चरणमा ठाटिकाँध गाउँपालिका,भैरवी गाउँपालिका,नौमुले गाउँपालिका,डुगेश्वर गाउँपालिकामा फोटो सहितको मतदाता नामवली संकलन गरिने जानकारी दिइन ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्य तालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा भने जिल्ला प्रशासन कार्यालय दैलेख र इलाका प्रशासन कार्यालयमा मतदाता नामवली संकलन गरिने बताइएको छ ।