Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

भागबण्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ

सुर्खेत  :  कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एकसातासम्म सरकारले पूर्णता पाउन सकेको छैन । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिक राजीनामा दिएपछि १६ गते मंगलबार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन जुटाएर मुख्यमन्त्री बनेका शाहीले एक्लै सपथ लिएका थिए । सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा मिल्न नसकेकाले उनले मात्र शपथ लिएका हुन् । एक दुई दिनमै मन्त्रिमरिषद् विस्तार गर्ने भनिए पनि अहिलेसम्म एक जना मन्त्रीसमेत नियुक्त गरिएको छैन ।

सत्ता साझेदार दलहरूबीच सरकारको भागबण्डाबारे ठोस सहमति अझै नजुटेको हो । गठबन्धन दलका नेताहरूका अनुसार कुन दलले कति मन्त्रालय लिने भन्ने विषयको छलफल निष्कर्षमा पुगेको छैन । जसले गर्दा सरकार गठनमा मुख्यमन्त्री शाहीलाई सकस भएको छ ।

तीन दलीय गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै हुँदा त्यसको व्यवस्थापनमै दलहरू अल्झिएका हुन् । उनीहरूले आफ्नो दलबाट सरकारमा सहभागी हुनेको नामसमेत टुंग्याउन सकेका छैनन् । माओवादी र समाजवादीले मन्त्री बन्नेको नामावली दिएपछि मात्र मन्त्रिपरिषद् विस्तारको तयारी गरिएपनि कसैको नाम नआएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

अन्य दलमा मात्र होइन सरकारको नेतृत्व गरेको कांग्रेसभित्र पनि कति मन्त्री लिने र कसलाई पठाउने भन्ने सकस कायमै छ । यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा कांग्रेसले दुईवटा मन्त्रालय लिएको थियो । मुख्यमन्त्रीसहित अब पनि दुईवटा मन्त्रालय लिने लविङ कांग्रेसले गरिरहेको छ । मुख्यमन्त्री लिनेले एक मात्र मन्त्रालय पाउनुपर्ने माओवादी र समाजवादीका नेताहरू बताउँछन् ।

त्यस्तै, माओवादीले कति मन्त्रालय लिने र कसलाई सरकारमा पठाउने विषयमा निर्णय गरिसकेको छैन । आन्तरिक भागबण्डा र आकांक्षी मिलाउन हम्मेहम्मे परेकाले सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखिएको छ । यी दुवै दलमा प्रदेशमा पनि दुई समूह सक्रिय छन् ।पार्टीभित्रकै सन्तुलन मिलाउन दलहरूले समय लगाएका हुन् ।

 

कांग्रेस नेतृत्वको सरकारमा तीनवटा मात्र सांसद रहेको समाजवादीले तीन वटै मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । समाजवादीले केही दिन पहिले दलको बैठकबाट तीनवटा मन्त्रालय दाबी गर्ने निर्णय गरेको हो । माओवादी केन्द्र तीनवटा मन्त्रालय नछोड्ने दाउमा छ । आफू नेतृत्वको सरकारमा माओवादीले दुई मन्त्रालय लिएको थियो । कर्णालीमा मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय छन ।