कर्णालीमा मुख्यमन्त्रीका लागि शाहीले गरे दाबी पेश
सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन्।
शाहीले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्। सत्तारुढ गठबन्धन, माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट तीन जना गरी २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गर्न शाही प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।
यस अघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो कात्तिक १५ गते पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि कलौनीले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
प्रदेश प्रमुख कलौनीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मंगलबार साँझ ७ः३० बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए।