Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्यान्ड प्रस्थान

काठमाडौँ ः स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ । बिहान ११ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री देउवा नेतृत्वको टोली ग्लास्गो प्रस्थान गरेको हो ।

पाँचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण गर्न लागेका देउवासँगै ग्लास्गो जाने टोलीमा ६ जना सचिव छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट छन् ।

त्यसैगरी, भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै गएका छन । अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२६ कात्तिक १२ देखि २६ सम्म हुँदै छ । प्रधानमन्त्री देउवा कात्तिक १७ मा नेपाल फर्कनेछन् ।

error: Content is protected !!