मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत वितरण भइरहेको साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियारको बर्दिबासको टोलीले बुधबार कार्यालयमा छापा मार्दै फाइल नियन्त्रणमा लिएको हो।
अख्तियारको बर्दिबासका टोलीका उपसचिव मेघनाथ रिमालको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकलहरुको विवरणसहितको फाइल नियन्त्रणमा लिएको छ। उपसचिव रिमालले साइकल खरिदमा अनियमितता भएको उजूरी परेपछि छापा मारेको बताए। उनले बाँकी अनुसन्धान पश्चात मात्र भन्न सकिने बताए।
मुख्यमन्त्री कार्यालयले विभिन्न मितिमा एउटा साइकलदेखि लिएर ४ हजारभन्दा बढीसम्म विभिन्न मितिमा साइकल खरिद गरेको छ। मुख्यमन्त्री कार्यालयले भारतमा उत्पादन गरिएको साइकलहरु खरिद गरेको छ। जसमा सिटी बाइक, लेडिज साइकल, हिरोको साइकलहरु रहेको छ।
कार्यालयले टेन्डर आह्वान गरेर मात्र नभइ बजारबाट समेत साइकल खरिद गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले समेत मुख्यमन्त्री कार्यालयले समुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको अधावधिक नगरी हचुवाको भरमा साइकल वितरण गरेको उल्लेख गरेको छ। मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकल उत्पादन गरेको कम्पनीको नामहरु समेत खुलाइएको छैन।
पछिल्लो समय मुख्यमन्त्री कार्यालयसहित प्रदेश सरकारको विभिन्न मन्त्रालयमा व्यापक अनियमितता भएको समाचारहरु बाहिरिँदै आएको छन्। यता मुख्यमन्त्री कार्यालयमा अख्यिारको टोलीले छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्न लागेका छन्।साभार