Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सीमा अध्ययन समितिको टोली फिर्ता

राजन राउत  :  हुम्ला खण्डको चीनसँग जोडिएको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गर्न खटिएको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सिमास्तम्भको अध्ययन पश्चात फिर्ता भएको छ । सिमकोटबाट टोली गाडीमार्फत् लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रवार हेलिकोप्टरबाट फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सिमास्तम्भहरुको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सिमास्तम्भहरुको अध्ययन गरी आज फर्केको जानकारी दिए । संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ गते हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो ।

उनले लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सिमास्तम्भको अध्ययन कार्य गर्न टोली सफल भएको बताए । शुक्रवार संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सिमास्तम्भमा हेलिकोप्टरबाट गएर अध्ययन गर्ने कार्य भएको भएपनि त्यो पुरा नभएको बताए ।

टोलीकै लागि नेपाली सेनाको हेलिकोप्टर हिल्सा पुगेर टोलीलाई लिएर चार हजार मिटर अग्लो स्थानमा पुगेपछि हावाको कारण हेलिकोप्टर उडान भर्न नसक्दा टोली सिमकोट हुँदै सुर्खेततर्फ लागेको हो । लाप्चा लिमी र हिल्सा क्षेत्रका सञ्चार सम्पर्क हुन नसक्ने र हेलिकोप्टरमा हिल्साबाट फिर्ता आएको टोली सिमकोट बिमानस्थलमा टेकअपपछि सुर्खेतका लागि उडान भरेको थियो ।

टोलीले हेलिकोप्टरबाट हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सिमास्तम्भ अध्ययन गर्ने कार्य पनि हुन सकेन । टोलीमा आचार्यका साथै उमेशराज जोसी, किशोरकुमार श्रेष्ठ, प्रदिपकुमार पाल, शुशिल डंगोल, दयानन्द जोशी र कपिल कटवाल ररहेका थिए । नापी बिभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ ।

दुई देशको सिमाक्षेत्र लोलुङ जोङमा चिनीयाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सिमास्तम्भ चीनले एकतर्फी पूनरनिर्माण गरेपछि हुम्लामा यसको बिरोध हुँदै आएको थियो । नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सिमास्तम्भ नम्बर १२ पर्छ ।