Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कर्णालीमा एमालेका तीन सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा -एमाले_ का तीन सांसदले नेकपा -एकीकृत समाजवादी_ पार्टी रोजेका छन्। प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा -एकीकृत समाजवादी_ रोजेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए। हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आबद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको उनको भनाइ छ।

कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए। प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो।

हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको सङ्ख्या १३ मा झरेको छ। प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन्।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ।

समाजवादी रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य समेत रहेको थिए। रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा समाजवादी पार्टीको केन्द्रीय सदस्य थिइन्।

त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य छन्। वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याएका थिए।