Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

काँग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत


काठमाडौँ  :  नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए ।

क्रियाशील सदस्यताको सूचि प्राप्त गरेसँगै निर्वाचन समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानून व्यवसायीमध्येबाट आज जिल्ला निर्वाचन अधिकृत खटाएको समिति संयोजक महादेवप्रसाद यादवले बताए । जिल्ला निर्वाचन अधिकृतले यही भदौ १८ गते हुने गाउँ÷नगर, वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म निर्वाचन प्रक्रियाका काम गर्नुहुनेछ ।

निर्वाचन अधिकृतले सम्बन्धीत जिल्लाका पार्टी सभापति, पार्टीका वर्गिय सङ्गठन र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरसम्म निर्वाचन अधिकृत तोक्ने उनले बताए । प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत पछि खटाइनेछ । क्रियाशील सदस्यताको बाँकी सूची समितिलाई शनिबार र आइतबारसम्म प्राप्त हुने बताइएको छ । बाँकी जिल्लामा क्रियाशील सदस्यताको सूचीसँगै निर्वाचन अधिकृत पनि खटाइने समितिले जनाएको छ । प्राप्त भएको क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयको वेभसाइटसमेतमा सार्वजनिक गरिएको संयोजक यादवले जानकारी दिए ।

समितिले स्थल र हवाई यातायात मार्फत क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्लामा पठाउन सुरु गरिसकेको जनाएको छ ।

निर्वाचन अधिकृत खटाएसँगै भदौ १८ गते तोकिएको वडाअधिवेशनका लागि नेता कार्यकर्ता जिल्ला र गाउँ फर्किन सुरु भएको छ । नविकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडाअधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।