Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

दैलेखका ११ स्थानीय सरकारमा देखियो ४६ करोड १५ लाख बेरुजु

दैलेख  :  दैलेखमा रहेका ११ स्थानीय तहमा झण्डै ४६ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको अन्ठाउन्नौं बार्षीक प्रतिवेदन–२०७८ अनुसार जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ रुपैयाँ बेरुजु देखिएको हो । जिल्लाका ११ स्थानीय तह मध्ये सबै भन्दा बढि ठाटीकाँध गाउँपालिकामा बेरुजु देखिएको छ । एक अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको महालेखापरिक्षण आफ्नो प्रतिबेदनमा उल्लेख गरेको छ ।

जिल्लामा सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा बेरुजु देखिएको छ । गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल बजेटको १.९० प्रतिशत अर्थात १ करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै आठबीस नगरपालिकामा कुल बजेटको ३.२८ प्रतिशत अर्थात २ करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ८१ करोड ९३ लाख दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएको ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा ५ करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ६.२२ प्रतिशत हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा २ करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको २.८४ प्रतिशत हो ।

७४ करोड ४५ लाख ५ हजार रुपैयाँको लेखापरीक्षण गराएको डुङ्गेश्वर गाउँपालिकामा २ करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३.३८ प्रतिशत हो । १ अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा लेखापरीक्षण गरिएको कुल बजेटको २.९३ प्रतिशत अर्थात ४ करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ । नारायण नगरपालिकाले लेखापरीक्षण गराएको एक अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा चार करोड २७ लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३.८२ प्रतिशत हो ।

यस्तै नौमूले गाउँपालिकामा तीन करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा तीन करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा तीन करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौमूले गाउँपालिकामा ७८ करोड ७८ लाख ५३ हजार, महाबु गाउँपालिकाले ७९ करोड दुई लाख एक हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए । बेरुजु रकम नौमूलेमा लेखापरीक्षण गरिएको कुल बजेटको ४.३९ प्रतिशत, महाबुमा ४.१४ प्रतिशत र भैरबीमा ४.६० प्रतिशत रकम बेरुजु देखिएको हो ।