Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अन्तरिम आदेश दिन सर्वोच्चबाट अस्वीकार

काठमाडौं  : जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद् पद गुमाएका तीनजना पूर्वसांसद्ले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
पार्टीले निष्कासन गरेपछि सांसद् पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए । तर, सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको मागअनुसार सांसद् पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 

सर्वोच्चले विपक्षीसँग लिखित जबाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

 

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारबाही गरेको थियो । यसअघि पनि जसपाले उनीहरुलाई निष्कासन गरे पनि सर्वोच्च अदालतले तत्काल सांसद् पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनीहरुको सांसद् पद कायम रहेको थियो ।