Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

आइतबार जनकपुर–जयनगर रेलको गति परीक्षण

जनकपुरधाम  :  बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको भोलि आइतबार परीक्षण गरिने भएको छ। रेल संचालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सूचना जारी गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन्। महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ। ‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ।

त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिन्छ’ महाप्रबन्धक भट्टराईले उल्लेख गरेका छन्। उनले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइनेछ।

परीक्षणको विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारबाहीसमेत गरिने उनले चेतावनी दिएका छन्। जिम्मेबार भइदिन जयनगर – जनकपुर – कुर्था खन्डका नागरिकलाई महाप्रबन्धक भट्टराईले अनुरोध गरेका हुन्।