Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

फैसला तुलानामा मेलमिलापबाट निकालिने समाधान दिगो : न्यायाधीश लामिछाने

दैलेख  :  दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले न्यायिक निकायको फैसला तुलानामा मेलमिलापबाट निकालिने समाधान दिगो र विश्वासिलो हुने बताएका छन् । भैरबी गाउँपालिकाको डाँडीमाडीमा सञ्चालित मेलमिलापकर्ताको लागि ८ दिने आधारभूत तालिमको चौथो दिन अनुगमनको निम्ति त्यहाँ पुगेका बेला न्यायाधीश लामिछानेले यस्तो बताएका हुन् ।जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिका अध्यक्ष न्यायाधीश लामिछानेले तालिम प्राप्त गरेको मेलमिलापकर्ताले भैरबी गाउँपालिकाको न्यायिक सरोकारका विवाद समाधान गर्न सहयोगी बन्ने बिश्वास व्यक्त गरे ।

दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्कीले मेलमिलापकर्ता योग्यता, काम कर्तव्य, जिम्मेवारी र स्थानीय न्यायिक समितिसंग समन्वय विषयमा प्रकाश पारेका थिए ।भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले मेलमिलाप कार्यकर्ताहरुको तालिम आयोजक र सहभागीहरुलाई पृष्ठपोषण र उत्प्रेरणा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
जिल्ला न्यायाधीश लामिछानेको टोलीले भैरबी गाउँपालिकाको न्यायिक समितिले गरेका न्यायसम्पादनका कामको पनि अनुगमन गरेको छ ।
गाउँपालिकाले न्यायिक समिति गठनपछि काम थालेको ३ वर्ष अवधिमा मेलमिलाप गराएका २६ वटा मुद्दाका अभिलेख निरीक्षण गरिएको भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले जानकारी दिइन् ।

भैरबी गाउँपालिकाले सम्पादन गरेका न्याय सम्पादनका काम सुव्यवस्थित नै रहेको पाइएको र अनुगमन निरीक्षणको लिखित प्रतिवेदन गाउँपालिकालाई दिइने दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपाने बताए ।
भैरबी गाउँपालिकाले आयोजना र सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको तालिममा प्रशिक्षकहरु उद्धवप्रसाद अधिकारी, दिपेन सुवेदी र विशाल आचार्यले मेलमिलापकर्ताहरुका लागि सैद्धान्तिक र व्यवहारिक प्रयोग विषयमा सहजीकरण गरिरहेका छन् ।साभार ज्वाला सन्देश