Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सरकारको निर्देशनविपरीत पुरानै नक्साअंकित पाठ्युस्तक वितरण

दैलेख  :  दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशनविपरीत वितरण भएको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्साअंकित पाठ्यपुस्तक बिक्री–वितरण गर्नू–गराउनू भनेर दिएको निर्देशन दैलेखमा लागू हुन सकेको छैन । कतिपय पुस्तक बिक्रेताले पुरानै नक्साअंकित पुस्तक विद्यार्थीसमक्ष पुर्‍याएका छन् ।

‘दैलेखको डुगेश्वर गाउँपालिका, नारायण नगरपालिका, भगवती माई गाउँपालिकालगायतका विभिन्न पालिकाका विद्यालयमा वितरण गरिएका अधिकांश पुस्तकमा पुरानै नक्सा देख्न पाइन्छ । कक्षा ८ का विद्यार्थीले पाएको किताबमा पुरानै नक्सा कायम छ । हामीले सम्बन्धित निकायलाई खबर गरेका छौँ,’ एक अभिभावकले गुनासो गरे ।
जनक शिक्षा सामग्री केन्द्र काठमाडौंले पुस्तकमै पाठ्यपुस्तकसम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरलाई हुने उल्लेख गरेको छ । केन्द्रको लिखित स्वीकृतिविना व्यापारिक प्रयोजनका लागि पूरै वा आंशिक भाग हुबहु प्रकाशन गर्न, परिवर्तन गर्न र प्रतिलिपि निकाल्न नपाइने व्यवस्था गरेको छ ।

दैलेखको शिक्षा विकास तथा समन्वय इकाइले मन्त्रालयको परिपत्रअनुसार नयाँ नक्सा भएको पाठ्यपुस्तक मात्र विद्यार्थीलाई वितरण गर्न पत्राचार गरेको छ । ‘हामीकहाँ पनि केही गुनासो आएका छन्, हामीले सबैलाई मन्त्रालयको परिपत्रअनुसार काम गर्न भनेका छौँ,’ शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले भने । तत्कालै शिक्षा समितिको बैठक बसेर जिल्लाभर परिपत्र गर्ने तयारी शिक्षा इकाइ कार्यालय दैलेखले गरेको छ । विद्यालयका शिक्षकले पनि यो विषयलाई ख्याल गरेर पुस्तक खरिद गर्न आग्रह गरेको थापाले बताए ।

नियमविपरीतका पुस्तकहरू वितरण गरेका गुनासो जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानबिन सुरु गर्ने भएको छ । स्थानीय अभिभावकको मौखिक जानकारीअनुसार आफूले लिखित रूपमै पुराना पाठ्यपुस्तक वितरण नगर्नु भनेर शिक्षा इकाइमार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।साभार नयाँपत्रिका