Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

त्रिदेशीय सडक खण्डको महावु सडक खण्डका लागि २० करोड बिनियोजन

दैलेख : संघिय सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम दैलेख सदरमुकामबाट सुरु हुने भएको छ । दैलेख सदरमुकाम महावु सडकखण्डमा यो वर्ष २० करोड रकम विनियोजन गरेको छ । गत वर्षदेखि नेपालगन्ज सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम सुरु गरिएको हो ।

गत वर्ष विनियोजन गरिएको ८० करोड रकम मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । यो वर्ष विनियोजन गरिएको ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडा चौरदेखि महावु सडकखण्डका लागि २० करोड विनियोजन गरिएको छ । निर्वतमान प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले गत वर्षबाट निरन्तर यो अभियानमा लागेको र यो वर्षबाट सडक स्तरोन्नतिसँगै, सडक चौडा, नाली, ग्याबिन र कालोपत्रेका लागि क्रमागत योजनाअन्तर्गत दैलेख खण्डमा २० करोड रकम विनियोजन भएको जानकारी दिए ।

सुर्खेत सडक डिभिजनका इन्जिनियर तुलाराम शर्माले सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत उक्त रकम खर्च गरिने भएको बताए । उनले कुल ६० करोडमध्ये २० करोड रकम महावु सडक खण्डकै लागि भनेर विनियोजन भएर रेडबुकमा आइसकेको बताउदै सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको बताए ।

कर्णालीका पाँच जिल्ला जोड्नका लागि दैलेख सदरमुकामको तीनवटा स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको हुदै कालिकोट कर्णालीका जिल्ला जोड्ीएको छ भने अर्को सुर्खेत माथिल्लो डुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट र जुम्ला जोड्ने सडकमा पनि प्रदेश र केन्द्र सरकारले रकम विनियोजन गरेर धमाधम काम सुरु भइरहेको छ ।
दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले दैलेख सदरमुकाम महावु हुँदै कालिकोट जुम्ला जोड्ने अर्को सडकका पनि यो वर्षबाट काम सुरु हुने भएको छ । तीनवटै सडक सञ्चालनमा आए दैलेखको आर्थिक अवस्था सुधारसँगै पर्यटन प्रवर्द्धनमा निकै ठूलो टेवा पुग्ने बताए । उनले जिल्लाका ठूला विकासे योजनाहरू तीव्र गतिमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबै जिम्मेवार निकायहरूले कामको प्रभावकारिता, गुणस्तरीयताबारे खबरदारी गर्न आग्रह समेत गरेका छन । उनले भने जबसम्म ठूला विकासे पूर्वाधार जिल्लामा बन्दैनन् तबसम्म रोजगारी सिर्जना हुँदैन र जिल्लाको विकासले फड्को मार्दैन ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जिल्लाका आम नागरिकको आर्थिक अवस्था सुधारका लागि ठूला विकास जरुरी भएकाले जिल्लाको पूर्व–पश्चिमका सबै जनताको जीवनस्तर सुधार गर्नैपर्नेमध्ये पहाडी सडक, कर्णालीका जिल्ला छुने दुईवटा महत्वपूर्ण सडकहरू महावु हुँदै कालिकोट जुम्ला र भैरवी बेहुली हुँदै कालिकोट जुम्ला जाने सडक, दैलेखको पेट्रोल उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाहरू निर्माणका लागि जनप्रतिनिधि सबैले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल गृहजिल्ला दैलेख आउनेबित्तिकै रोकिएको मध्यपहाडीको कामले तीव्रता पाएको छ । विभिन्न स्थानहरूमा भएका समस्याहरूको बारेमा समाधान गर्न प्रजिअ आफैँले सहजीकरण गरिदिएपछि समस्या समाधानमा सहयोग पुगेको हो । ‘आफू स्थानीय भएकाले जिल्लामा हुने सबैखाले विकासमा गुणस्तरीयता कायम गर्न निकै कडाइका साथ निर्देशन दिएको छु,’ उनले भने गल्ती भेटिएमा तत्काल कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ । कुनै पनि विकास गतिविधि कसैका कारण अवरोध हुनुहुँदैन भन्ने मान्यताका साथ जिल्ला प्रशासनले काम गरेको छ ।